मिथिलाञ्चल चौठ चन्द पर्व
मिथिलाञ्चल क्षेत्रमा आज चौठ चन्द पर्व मनाइँदैछ ।
सप्तरी सहित धनुषा, सिरहा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सा यो पर्व भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ ।
मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् । आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ ।
प्रसादका रूपमा,पेरुकिया खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ । दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिला प्रसाद तयार बनाउन व्यस्त छन् ।
यो पर्व मिथिलाञ्चलमा हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ । मिथिलाको लोकपर्व चौठ चन्दको बेला गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रहिआएको छ ।
द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरीब यादव भगवान सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए–स्यमन्तक । विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट यादवले प्रतिदिन २० मन सुन प्राप्त गर्थे । उनी छिटै धनाढ्य हुन पुगे । चारैतिर यो खबर फिंजियो । एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन् । मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चमक्क भयो । श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गरेपनि उनले मानेनन् र बहाना बनाई घर फर्कि हाले । घरमा गएपछि राजाले लेला भन्ने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षा साथ जङ्गल पठाए । कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवान नाउँको बलशाली भालुले हात पारे ।
भालुको निवास एउटा विशाल गुफामा थियो । प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजा कहाँ आएपछि उसको सन्देह श्रीकृष्णमाथि नै गयो । आफूमाथि लागेको कलङ्क मेट्न श्रीकृष्ण जङ्गल गए र निकै खोजबिन गरेपछि त्यहाँ उपलब्ध साक्षीहरुको आधारमा आशङ्का गर्दै त्यस गुफाभित्र प्रवेश गरे । दश दिनभन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर नआएपछि सँगै आएका सैनिकहरु निराश भई राजधानी फर्के । त्यहाँ श्रीकृष्णको लागि निकै शोक लहर चल्यो । समय बित्दै जाँदा अठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिलाका साथ राजधानी फर्के । वास्तवमा जामवन्त भालुसँग लडाईं गर्दै अन्तमा उनलाई हराएर मणि साथ उनकी छोरी जाम्बवतीलाई लिएर उनी आएका थिए । त्यो दिन भाद्र शुक्ल चतुर्थीको दिन थियो । श्रीकृष्णको कलङ्क मुक्तिको त्यो दिनलाई स्मरण गर्दै चन्द्रपूजाको प्रचलन चल्दै आएको विश्वास गरिन्छ ।
एउटा वचन आएको छ–‘‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसकेपछि धानको रोपाइँ गर्नु हुँदैन,

No comments